/*php the_title();*/?>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ ।
श्रम मन्त्रालयले आइतबार श्रम स्वीकृति दिने सफ्टवेयरबारे सम्बन्धित निकायसँग छलफल गर्दै एक घण्टामै श्रम स्वीकृतिको प्रक्रिया पूरा गर्ने तयारी गरेको हो ।
श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुस्ख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए । उनले आगामी शुक्रबारभित्र एक घण्टामै श्रम स्वीकृतिको सक्कल कागजात कामदारको हातमा हुने गरी व्यवस्था गर्न निर्देशन दिए ।
‘वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा निकै समस्या भोगिरहेका छन् । अहिले श्रम स्वीकृति लिँदा के–के समस्या छन् । उक्त समस्या समाधानका लागि के–के काम गर्नुपर्छ दिनरात मेहनत गर्नुहोस्,’ उनले भने, ‘मन्त्रालयले आगामी शुक्रबारदेखि एक घण्टामै श्रम स्वीकृति दिने प्रक्रिया पूरा गर्नका लागि आवश्यक सहयोग गर्नेछ ।’
उनले तत्काल अल्पकालीन समयको अवधिमा तोकेर काम सुरु गर्न निर्देशन दिए । विस्तारै दीर्घकालीन तरिकाले कार्य अगाडि बढाउने उनको भनाइ छ । मन्त्री अर्यालले एक घण्टामै श्रम स्वीकृति दिन नसक्ने अवस्था छ भने पनि आगामी एक महिनाभित्र नै उक्त व्यवस्था लागू गर्ने दाबी गरे ।
‘एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने भन्नुहुन्छ भने म चुनौती दिन्छु यही सफ्टवेयर प्रयोग गरेर आगामी एक महिनाभित्र सो व्यवस्था लागू गर्छु,’ उनले भने ।
त्यसैगरी, मन्त्री अर्यालले सफ्टवेयरको प्रयोगबाट सबै कामदारको सुरक्षा र सहज होस् भन्ने हेतुका साथ प्राथकितामा राखेर काम गर्ने बताए । कामदारहरु उपत्यका बाहिरबाट आएर होटलमा बस्ने खाने, आवातजावतमा धेरै खर्च हुने भएको भन्दै मन्त्री अर्यालले उक्त खर्च कम गर्नका लागि मन्त्रालयले एक घण्टामै श्रम स्वीकृति दिनुपर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए । श्रम स्वीकृति दिनका लागि प्रयोग हुने प्रविधिबाट कामदार मात्रै नभएर कर्मचारीलाई पनि काम गर्न सहज हुने धारणा राखे ।
४ चैत्र २०८०, आईतवार १५:१८ 21