अर्थतन्त्रका संकुचन कायमै अझै बढेन आयात निर्यात

काठमाडौं । अर्थतन्त्रमा संकुचन कायम रहँदा चालु आर्थिक वर्षमा आयात र निर्यात दुवै खुम्चिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको आठ महिनामा आयात २.६६ प्रतिशत र निर्यात ३.९९ प्रतिशतले घटेको हो । कुल वैदेशिक व्यापारमा पनि २.७८ प्रतिशत कमी आएको छ ।

गत वर्ष यस अवधिमा १० खर्ब ५८ अर्बको वस्तु आयात भएकामा यस वर्ष १० खर्ब ३० अर्बको आयात भएको छ । त्यस्तै निर्याततर्फ गत वर्ष एक खर्ब चार अर्बको वस्तु निर्यात भएकामा यस वर्ष एक खर्ब ६१ करोडको वस्तु निर्यात भएको छ । चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि आयात गत आर्थिक वर्षको तुलनामा ऋणात्मक देखिएको छ। अर्थतन्त्रमा आत्मविश्वास बढ्न नसक्दा अन्तर्राष्ट्रिय व्यापारका सूचकहरू संकुचित भएको छ।

यस अवधिमा नेपालको कुल वस्तु ब्यापारघाटा ९ खर्ब २९ अर्ब रहेको छ। गत वर्षको यसै अवधिमा वस्तु ब्यापारघाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। यस अवधिमा वस्तु ब्यापारघाटा २.५२ प्रतिशतले घटेको छ।

यस अवधिमा कुल अन्तर्राष्ट्रिय वस्तु ब्यापार ११ खर्ब ३० अर्ब रुपैयाँ बराबरको भएको छ। गत वर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको वस्तु ब्यापार भएको थियो।

देशभित्र विकास निर्माणका काम सुस्त भएकाले पुँजीगत सामाग्रीको आयात घट्दा समग्र वस्तु आयात घटेको छ। निर्माण समाग्रीको आयात घट्दा यसले समग्र अर्थतन्त्रको माग घटाएको छ ।

मागमा आएको कमीले सरकारी राजस्व र अर्थतन्त्र गतिविधि संकुचित भएको छ। सरकारले विकास निर्माणको काममा तीब्रता दिन नसकेकाले विकासको निर्माणको काम प्रभावित भइ आर्थिक गतिविधिमा शिथिलता आएको हो।

अर्थतन्त्रमा आएको शिथिलताले गर्दा बैंकिङ प्रणालीमा करिब ६ खर्ब ३६ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने ब्याजदर निरन्तररुपमा घटिरहेको छ।

७ चैत्र २०८०, बुधबार ०१:५० 15