एसियन लाइफ भित्रिएपछि यती एयरलाइन्सका पुराना कर्मचारी कटौतीमा

काठमाडौं। यती एयरलाइन्सको ४९ प्रतिशत सेयर स्वामित्व लिएको एसियन लाइफ इन्स्योरन्सले व्यवस्थापन आफ्नो हातमा लिएर धमाधम पुराना कर्मचारी हटाउन थालेको छ। एयरलाइन्स क्षेत्रमा लामो अनुभव बटुलेका यतीमा क्रियाशील कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गर्न थालेको हो।

यती स्रोतका अनुसार ४० प्रतिशत हाराहारी कर्मचारी कटौती भएको छ। कटौतीमा पर्ने कर्मचारीहरुमा तल्लो तहदेखि माथिल्लो तहसम्मका छन्। पुराना कर्मचारी हटाएर नयाँ ‘फ्रेसर’ कर्मचारीमार्फत काम चलाउने तयारी रहेको यती स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय यती एयरलाइन्सप्रति सर्वसाधारणको विश्वास गुम्दो छ। नेपालमा सबैभन्दा धेरै यतिकै जहाज दूर्घटना हुने गरेको पाइन्छ। यतीले आर्थिक, सामाजिक रुपमा समेत नोक्सानी व्यहोरेपछि एसियन लाइफ भित्रिएको हो। बहुमत हिस्सा सेयर स्वामित्व नलिएको भए पनि कठिन समयमा यतीलाई साथ दिएको भन्दै एसियन लाइफका सञ्चालक र उच्च व्यवस्थापकहरुले आफ्ना मान्छे व्यवस्थापन गर्न भर्तिकेन्द्र बनाएको कर्मचारीहरुको गुनासो छ।

एयरलाइन्स व्यवसाय के हो ? कसरी काम हुन्छ ? के–कस्ता विषयमा ध्यान दिनुपर्छ भन्ने सामान्य ज्ञान पनि नभएका व्यक्तिबाट एयरलाइन्स चलाउन खोज्दा आगामी दिनमा थप क्षति व्यहोर्नुपर्ने अवस्था आउने यतीमा क्रियाशील कर्मचारीहरुको दाबी छ।
‘एयरलाइन्स एकदमै संवेदनशील व्यवसायभित्र पर्छ।

सामान्य मानवीय त्रुटि हुँदा पनि ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ’ एयरलाइन्सका एक कर्मचारीले भने, ‘अनुभवी कर्मचारीले काम गर्दा त कहिले काँही समस्या आउँछ। तर, एयरलाइन्स नबुझेका नयाँ कर्मचारीले काम गर्दा भविष्यमा झनै अप्ठेरो स्थिति उत्पन्न हुनसक्छ। यस्तो अवस्थामा पुराना र अनुभवी कर्मचारी हटाउँदा यात्रुको विश्वास थप धर्मराउन सक्छ। एयरलाइन्स व्यवसायमा अनुभव सबैभन्दा महत्त्वपूर्ण पक्षका रुपमा रहेको हुन्छ।

‘नयाँ व्यवस्थापनले निकालेका कतिपय कर्मचारीहरु अहिलेको परिस्थितिअनुसार चल्न सकेको थिएनन होला’ ती कर्मचारीले भने, ‘निकालिएकामध्ये ९५ प्रतिशत कर्मचारी एयरलाइन्स बुझेका व्यक्ति छन्। एयरलाइन्सबारे राम्रो जानकारी भएका कर्मचारी निकाल्दा एयरलाइन्सलाई समस्या हुन्छ।’ यतीबाट निकालिएका कतिपय कर्मचारी बुद्ध, श्री तथा सौर्य एयरलाइन्समा गएका छन्।

७ फाल्गुन २०८०, सोमबार १४:०७ 50