/*php the_title();*/?>

काठमाडौं-अपेक्षितरुपमा अर्थतन्त्रले गति लिन नसक्दा बैंकिङ प्रणालीमा करिब ७ खर्ब ७० अर्ब अधिक तरलता रहेको छ। बैंक वित्तीय संस्थाहरुको निक्षेपको औषत ब्याजदर ५ प्रतिशत र कर्जाको औषत ब्याजदर ९ प्रतिशतमा आउँदा समेत कर्जाको माग नबढेको हो।
ब्याजदर न्युन विन्दुमा र प्रणालीमा अधिक तरलता भएपनि लामो समयदेखि अर्थतन्त्र संकुचित रहेकाले कर्जाको माग नबढेको हो। नेपालको निजी क्षेत्रको आर्थिक गतिविधिमा संकुचन आउँदा बैंकहरुको ब्यवसाय समेत बढ्न सकेको छैन।
व्यवसाय नबढ्दा ब्याज भुक्तानीमा पनि समस्या भइरहेको छ। ब्याज भुक्तानीमा समस्या भएकाले बैंकहरुको खराब कर्जा बढिरहेको छ। खराब कर्जामा भएको बृद्धिले बैंक वित्तीय संस्थाको वासलात प्रभावित भएको छ। अधिक प्रोभिजनिङका कारण बैंकहरुको वितरणयोग्य नाफामा संकुचन आउँदा लगानीकर्ताले पाउने लाभांश घटेको छ भने बैंकहरु पुँजीकोषको दबाबमा छन्।
पुँजीकोषमा समस्या आउँदा बैंकहरु कर्जा विस्तार गर्ने क्षमता घटेको छ। पुँजी पुर्याउन बैंकहरुले धमाधम अग्राधिकार सेयर जारी गर्नका लागि राष्ट्र बैंकसँग अनुमति माग्नेक्रम बढेको छ।
कर्जाको माग नबढकै कारण राष्ट्र बैंकिङ प्रणालीमा सस्तो दरमा तरलता खिचिरहेको छ। आइतबार मात्रै राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तरलता खिच्न बोलपत्र आव्हान गरेको छ। यस्तै बैंकहरुले ३ प्रतिशत ब्याजदरमा स्थायी निक्षेप सुविधामा पनि ठुलो रकम जम्मा गराएका छन्।
बैंकहरुले ६६ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेर ५३ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यस अवधिमा बैंक वित्तीय संस्थाहरुले ५३ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बैंकहरुको औषत कर्जा निक्षेप अनुपात ७८.६४ प्रतिशत रहेको छ।
यस्तै बैंकहरुको अन्तर बैंक ब्याजदर ३ प्रतिशत नै रहेको छ। साधारणको बचत ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले बैंकहरुको निक्षेप ३ प्रतिशतमा नै खरिद गरिरहेको छ।
७ पुष २०८१, आईतवार १४:५१ 36