/*php the_title();*/?>
काठमाडौं । नेपालका पर्यटकीय गन्तव्यको देश–विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने प्रमुख निकाय हो पर्यटन बोर्ड । तर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पनि बोर्ड एक महिनादेखि नेतृत्वविहीन छ । प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न उपसमिति बनेको १५ दिन भइसक्दा पनि बैठक बस्न सकेको छैन । कार्यकारी अधिकृत मात्रै होइन सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने निजीक्षेत्रका ३ जना सदस्यको पद समेत रिक्त छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुरा भएको अवसरमा गरेको सम्बोधनमा यो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिनुपर्ने बताएका थिए, यो लक्ष्य सन् २०२३ को तुलनामा शतप्रतिशतले बढी हो । तर अहिले सम्म कुने सुरसार छैन् ।
प्रधानमन्त्रीले भनेको लक्ष्य पुरा गर्न तालुकदार मन्त्रालय, पर्यटन बोर्ड र निजी क्षेत्रले सहकार्य गरेर अहिलेदेखि नै राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा धूमधामले प्रचारप्रसार गर्नुपर्ने हो । तर यो विषयमा न मन्त्रालयले चासो दिएको छ, न प्रचारप्रसारको जिम्मेवारी पाएको पर्यटन बोर्डले नै ।
आउँदो अप्रिल सिजनका लागि अहिले बुकिङको समयमा हो । यही समयमा पर्यटन बोर्ड नेतृत्वविहीन छ । प्रमुख कार्यकारी अधिकृत मात्रै होइनन्, सञ्चालक समितिमा ११ सदस्य रहने व्यवस्था भएकोमा अहिले ६ जना मात्रै छन् ।
माघ १६ गते प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको कार्यकाल सकिएको थियो । प्रमुख कार्यकारीको पदावधि सकिनुअघि नै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाउनु पर्ने भए पनि अहिलेसम्म कुनै सुरसार छैन । माघ २८ गते प्रमुख कार्यकारी अधिकृत छनोटको लागि पर्यटन विभागका महानिर्देशक चक्र बुढाको संयोजकत्वमा उपसमिति बने पनि अहिलेसम्म एउटा पनि बैठक बस्न सकेको छैन ।
बजेट खर्च गर्ने कार्यविधि अभावका कारण बोर्डले साउनयता कुनै पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन मञ्चमा भाग लिन सकेको छैन । त्यस्ता मञ्चमा निजी क्षेत्रका छाता संगठनले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । विगतमा कार्यविधिविना खर्च गर्ने गरिए पनि महालेखाले कार्यविधि बनाएर मात्रै गर्न भनेपछि कार्यविधि नबन्दा रोकिएको हो । त्यसको सहजीकरणका लागि समेत चाँडो कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने बोर्ड अधिकारीहरू बताउँछन् ।
पर्यटन बोर्डले कार्यविधि बनाएर सार्वजनिक खरिद अनुगमनको कार्यलयमा २ पटक पठाई सक्दा पनि कार्यलयबाट कुनै प्रतिकृया आएको छैन् । त्यसको असर पर्यटन क्षेत्रमा पर्ने भएको छ ।
१३ फाल्गुन २०८०, आईतवार ०२:२० 82