चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नेपालको आर्थिक बृद्धि ३.४ प्रतिशत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक बर्षको पहिलो ३ तीन महिनामा नेपालको आर्थिक बृद्धिदर ३.४ प्रतिशत रहेको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक समिक्षा गर्दौ कार्यालयले कृषि उत्पादनमा भएको बृद्धि, पर्यटक आगमन बढनुका साथै होटेल तथा सेस्टुरेन्ट क्षेत्रमा भएको मुल्य अभिबृद्धि, विद्युत उत्पादन र वितरणमा भएको बृद्धिले गत आर्थिम बर्षको तुलनामा चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ३.४ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।

आर्थिक वर्ष २०८१/ प्रथम त्रैमासिकको कुल गार्हस्थ्य उत्पाद

१. परिचय

गतिशिल अर्थतन्त्रभित्र विभिन्न आर्थिक क्रियाकलाप जस्तैः उत्पादन, उपभोग, वस्तु विनिमय, वस्तु सञ्जय आदि सञ्चालन भइरहेका हुन्छन्। फलस्वरूप विभिन्न आर्थिक सूचक जस्तैः कुल उत्पादन, मध्यवर्ति उपभोग, कुल मुल्य अभिवृद्धि, आर्थिक वृद्धि, अन्तिम उपभोग, लगानी आदि निरन्तर परिवर्तन भइरहन्छन्। यस किसिमका आर्थिक परिसूचकहरू राष्ट्रिय लेखा प्रणालीबाट तयार गरिन्छ। आर्थिक सूचकमा भएको परिवर्तनको आधारमा सम्बन्धित सरोकारवाला निकायले आवश्यक नीति निर्माण गर्ने, नीति परिवर्तन गर्ने, कार्यक्रम कार्यान्वयनमा पुनरावलोकन गर्ने लगायतका विभिन्न निर्णय गर्दछन्। साथै, आर्थिक सूचकको प्रयोगबाट अर्थतन्त्रको स्वरूप, संरचना तथा व्यवहारको अध्ययन गरिन्छ। यसका अतिरिक्त, आर्थिक सूचकहरू अर्थशास्त्रीय विश्लेषण, अन्तर्राष्ट्रिय तुलनात्मक अध्ययनमा समेत व्यापक प्रयोग भइरहेका हुन्छन्।

  • राष्ट्रिय लेखा प्रणालीबमोजिम आर्थिक सूचक निर्माण गर्नका लागि अर्थतन्त्रभित्र सञ्चालित सबै प्रकारका आर्थिक क्रियाकलापलार्इ मापन गरी तथ्याङ्कीय स्वरूपमा प्रस्तुत गर्ने गरिन्छ। यस किसिमका तथ्याङ्क उपलब्ध गराउनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय मापदण्ड तथा सिद्धान्तको अनुशरण गरी वार्षिक राष्ट्रिय लेखा तथा त्रैमासिक राष्ट्रिय लेखाका अनुमान तयार गरी नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। वार्षिक राष्ट्रिय लेखाका अनुमानबाट छोटो अवधिमा हुने आर्थिक वृद्धि वा संकुचनलार्इ लेखाजोखा गर्न सकिंदैन। तसर्थ, छोटो अवधिमा भएका परिवर्तनलार्इ समेटी अर्थतन्त्रको दिशाबोध गर्नका लागि त्रैमासिक राष्ट्रिय लेखाका अनुमान प्रयोग गर्ने प्रचलन रही आएको छ। यसै सन्दर्भमा  नेपालले पनि विगत एक दशकदेखि निरन्तर रूपमा त्रैमासिक राष्ट्रिय लेखा अनुमान तयार गरी प्रकाशन गर्दै आएको छ। राष्ट्रिय लेखाका त्रैमासिक अनुमान अर्थतन्त्र भित्र सञ्चालित सबै आर्थिक क्रियाकलापहरूमा छोटो अवधिमा भएका परिवर्तनलार्इ विभिन्न सूचकको माध्यमबाट मापन गरी तयार गरिन्छ।
  • हाल प्रकाशित त्रैमासिक राष्ट्रिय लेखाका अनुमान आ.व. २०६७/६८ लार्इ आधार वर्ष मानेर तयार गरिएका छन्। यी त्रैमासिक रूपमा प्रकाशित अनुमान स्थिर मुल्यमा मात्र मापन गरिएका छन्।प्रत्येक त्रैमासिक समाप्त भएको ९० दिन भित्रमा त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने कार्यालयको अभ्यासबमोजिम चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिकको अनुमान सार्वजनिक गरिएको छ। यस क्रममा अघिल्ला त्रैमासिकहरूमा प्रकाशित राष्ट्रिय लेखाका अनुमानहरूलार्इ उपलब्ध तथ्याङ्कका आधारमा अद्यावधिक समेत गरिएको छ।
  • २. त्रैमासिक राष्ट्रिय लेखा अनुमान गर्ने विधि
  • त्रैमासिक कुल गार्हस्थ्य उत्पादनका अनुमान तयार गर्दा विभिन्न आर्थिक क्रियाकलापहरूसँग सम्बन्धित सूचकहरूका आधारमा प्रथमत: मौसमी प्रभाव सहितका त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (Seasonally Unadjusted Quarterly Gross Domestic Product) अनुमान गर्ने गरिएको छ। तत्पश्चात अन्तर्राष्ट्रिय मुद्रा कोष (International Moneytary Fund-IMF) ले प्रचलनमा ल्याएको सफ्टवेयर अरिमा (X-12 ARIMA) को प्रयोग गरी मौसमी प्रभाव समायोजित कुल गार्हस्थ्य उत्पादनका (Seasonally Adjusted Quarterly Gross Domestic Product) अनुमान तयार गरिंदै आइएको छ। यी अनुमानका आधारमा त्रैमासिक वृद्धिदर तयार गरिन्छ। 
  • तालिका १ मा प्रस्तुत गरिएका मौसमी प्रभाव सहितका  मुल्य अभिवृद्धिको वृद्धिदर (Growth rate of value added) तथा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही त्रैमासकको विवरणसँग तुलना गरी गणना गरिएका छन्। यो तालिकामा प्रस्तुत गरिएका वृद्धिदरबाट अघिल्लो आर्थिक वर्षको त्रैमासिकबाट लगत्तै त्यसपछिको आर्थिक वर्षको सम्बन्धित त्रैमासमा कति प्रतिशतले आर्थिक वृद्धि भयो भनेर जानकारी प्राप्त हुन्छ। अर्कोतर्फ, तालिका २ मा प्रस्तुत गरिएका त्रैमासिक राष्ट्रिय लेखाको मौसमी प्रभाव समायोजित अनुमानको वृद्धिदर क्रमश अघिल्लो त्रैमासिकको विवरणसँग तुलना गरी गणना गरिएको छ । यो तालिका अघिल्लो त्रैमासिकबाट लगत्तैको पछिल्लो त्रैमासिकमा कति प्रतिशतले वृद्धि भयो भनेर बुझ्नको लागि उपयोगी हुन्छ। त्यसैगरी, तालिका ३ मा मौसमी प्रभाव सहितका स्थिर मुल्य (आ.व. २०६७/६८ आधार वर्ष) मा मापन गरिएका मुल्य अभिवृद्धि तथा कुल गार्हस्थ्य उत्पादन प्रस्तुत गरिएको छ भने तालिका ४ मा मौसमी प्रभाव समायोजित स्थिर मुल्य (आ.व. २०६७/६८ आधार वर्ष) मा मापन गरिएका मुल्य अभिवृद्धि तथा कुल गार्हस्थ्य उत्पादन प्रस्तुत गरिएको छ।
  • ३. र्थिक वृद्धिको त्रैमासिक अवस्था
  • मौसमी प्रभाव समायोजन नगरिएको तालिका १ मा प्रस्तुत तथ्याङ्क अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मुल्यमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।  यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मुल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्। यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको हो। खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ।
  • मौसमी प्रभाव समायोजित तालिका २ मा प्रस्तुत तथ्याङ्कका आधारमा त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मुल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को  पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ। गत आ.व.को चौथो त्रैमासिकको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको हो। यद्यपी, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।
  • ४. मौसमी प्रभाव समायोजित त्रैमासिक कुल मुल्य अभिवृद्धि वृद्धिदर
  • (आ.व. २०८०/८ को प्रथम त्रैमासिकको तुलनामा आ.व. २०८१/८२ को  प्रथम त्रैमासिकको वृद्धि)
  • चालु आ.व. २०८१/८२ को  प्रथम त्रैमासिक र अघिल्लो आ.व. २०८०/८१ को प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मुल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ (तालिका १)। जसमध्ये विद्युत तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२१.४%) रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ। यी औद्योगिक क्षेत्रलार्इ पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ। त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ। प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। अर्कोतर्फ, चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले संकुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।
  • अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे वालीहरु र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मुल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ। समयमा मलको उपलव्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो। यद्यपी, वर्षायामको बाढी र पहिरोले पुर्याएको क्षतीका कारणले कृषि क्षेत्रको कुल मुल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन सकेन।
  • आर्थिक वृद्धिदर भनेको कुनै अर्थतन्त्र भित्र निश्चित समयावधिमा सञ्चालित आर्थिक क्रियाकलापबाट मुल्य अभिवृद्धि भर्इ नयाँ उत्पादन भएका वस्तु तथा सेवाहरूको स्थिर मुल्यमा अघिल्लो अवधिको तुलनामा भएको प्रतिशत परिवर्तन हो। अर्को शब्दमा, आर्थिक वृद्धिदर भनेको अघिल्लो अवधिको तुलनामा राष्ट्रको स्थिर मुल्यको कुल गार्हस्थ्य उत्पादन (रियल जीडीपी) मा हुने परिवर्तन हो। देशको अर्थतन्त्रको अवस्थाको मूल्याङ्कन गर्न यो सूचक प्रयोग गरिन्छ। सुत्रमा,
  • त्रैमासिक राष्ट्रिय लेखाका प्रकाशित तालिका १ मा मौसमी प्रभाव असमायोजित त्रैमासिक वृद्धिलाई प्रस्तुत गरिएको छ। यो वृद्धिले कुल गार्हस्थ्य उत्पादनको वार्षिक परिवर्तनलार्इ प्रस्तुत गरेको हुन्छ। उदाहरणका लागि आ.व. २०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा आ.व. २०८१/८२ को प्रथम त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा कति प्रतिशतले वृद्धि भयो भनेर तालिका १ मा प्रस्तुत तथ्याङ्कबाट थाह पाउन सकिन्छ। यसलार्इ Year on Year वृद्धि पनि भनिन्छ। यसमा मौसमी प्रभावलार्इ समायोजन गरिएको हुदैन।
  • त्यसैगरी त्रैमासिक राष्ट्रिय लेखाका प्रकाशित तालिका २ मा मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई प्रस्तुत गरिएको छ। यो वृद्धिले कुनै त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन सोभन्दा लगत्तै अगाडिको त्रैमासिकभन्दा कति प्रतिशतले वृद्धि भयो भनेर तालिका २ मा प्रस्तुत तथ्याङ्कबाट थाह पाउन सकिन्छ। यसलार्इ Year on Year वृद्धि पनि भनिन्छ। यसमा मौसमी प्रभावलार्इ समायोजन गरिएको हुन्छ।
  • आर्थिक वृद्धिदर अर्थतन्त्रको स्वास्थ्य मापन गर्न प्रयोग गरिन्छ। धनात्मक आर्थिक वृद्धिदर अर्थतन्त्र सही दिशामा अगाडि बढेको सङ्केत हो भने ऋणात्मक आर्थिक वृद्धिदर अर्थतन्त्र संकुचनमा गएको सङ्केत हो। दुई भिन्न अर्थतन्त्र बीचको आर्थिक प्रगति तुलनात्मक रूपमा अध्ययन गर्न आर्थिक वृद्धिदरलाई प्रमुख सूचकको रूपमा प्रयोग गरिन्छ। नीति निर्माता, योजनाकार, अर्थविद् तथा पत्रकारहरूले यो सूचक निकै प्रयोग गरेको पाईन्छ।
  • ४. कुल मुल्य अभिवृद्धि (तालिका सँग सम्बन्धित)
  • कुल उत्पादनमा मध्यवर्ती उपभोग घटाएर बाँकि रहेको मान नै कुल मुल्य अभिवृद्धि हो। तर त्रैमासिक कुल मुल्य अभिवृद्धि अनुमान गर्नका लागि आर्थिक क्रियाकलापका विभिन्न सूचक (High frequecy indicators) को प्रयोग गरिने हुनाले कुल उत्पादन र मध्यवर्ती उपभोगको गणना गरिएको छैन। तालिका ३ मा प्रस्तुत गरिएको तथ्याङ्क स्थिर मुल्य (आधार वर्ष २०६७/६८) मा मापन गरिएका मौसमी प्रभाव असमायोजित कुल मुल्य अभिवृद्धि हुन् भने तालिका ४ मा प्रस्तुत गरिएको तथ्याङ्क स्थिर मुल्य (आधार वर्ष २०६७/६८) मा मापन गरिएका मौसमी प्रभाव समायोजित कुल मुल्य अभिवृद्धि हुन्।

२४ पुष २०८१, बुधबार ०२:३२ 21