नेपालमा ११७३ होटलमा वैदेशिक लगानी

काठमाडौं – नेपालमा १ लाख ४२ हजार २ सय २३ वटा होटल/रेस्टुरेन्ट रहेको सरकारी तथ्यांकले देखाएको छ । जसध्ये १ हजार १ सय २१ होटलमा पूर्णविदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको देखिन्छ । देशभरि ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । यसरी खुलेको आतिथ्य उद्योगमा साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र राखिएको थियो ।
यसपालि सर्वेक्षणमा भने होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेसको विस्तृत संकलन छ । सोहीकारण यस पटकको सर्वेक्षणलाई पहिलो बृहत सर्वेक्षण भनिएको डा. रेग्मीले जानकारी दिए ।
यो सर्वेक्षणमा शिक्षण संस्थाबाट सञ्चालित छात्राबास तथा कार्यालयभित्रका आवासगृह भने गणना गरिएको छैन । मठमन्दिर, गुम्बा परिसरमा सञ्चालनमा रहेका धर्मशाला र सामूहिक आवासगृह समेत गणनामा छैनन् । यसैगरी सडक पेटी वा खुला स्थानमा सञ्चालित भोजन सेवासम्बन्धी क्रियाकलाप समेत यसमा समेटिएका छैनन् ।
यो सर्वेक्षणका लागि कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्‍याएको योगदानको मापन गर्न सहज हुने उनले बताए ।
१ साउन २०७९ देखि ३० असार २०८० सम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्यांक संकलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले जानकारी दिएको छ ।
तथ्यांक अनुसार १० करोडभन्दा माथि स्थायी सम्पत्ति भएका होटल/रेस्टुरेन्ट संख्या ४ सय ९३ छ । जसमध्ये बागमतीमा २ सय १४ छन् । १ करोडदेखि १० करोडसम्म सम्पत्ति भएका होटल ८ हजार ७ सय ३२ छन् । २ लाखभन्दा सानो लगानीमा खुलेका होटल/रेस्टुरेन्ट ६७ हजार ५ सय २१ छन् ।
झन्डै ४ लाख स्वरोजगार/रोजगार
होटल/रेस्टुरेन्ट उद्योगले नेपालमा झन्डै ४ लाख मानिसलाई रोजगारी/स्वरोजगारी दिइरहेको सर्वेक्षणमा छ । ३ लाख ८७ हजार ७ सय ४७ जना यो उद्योगमा आबद्ध छन् । व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्ति यसमा समेटिएका छन् ।
१ लाख ३७ हजार बढी होटल/रेस्टुरेन्टका मालिक नेपाली
तथ्यांक अनुसार देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७ सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक छन् । जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ ।
नेपाली नागरिकको संयुक्त लगानीमा ३ हजार ३ सय २७ होटल/प्रतिष्ठान सञ्चालनमा छन् । जसमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल/रेस्टुरेन्ट रहेको तथ्यांक छ

१८ पुष २०८१, बिहीबार १०:४३ 23