भदौंमा पनि भएन लक्ष्य अनुसार राजस्व संकलन, सरकारलाई खर्च धन्ने दवाब

काठमाडौं, भदौं २ । चालु आर्थिक वर्षको २ महिनामा सरकारले १ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो ।

गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन गत वर्षभन्दा ३१.३८ प्रतिशत बढी राजस्व संकलन हुनु पर्छ ।

गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

तर, चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो । साउन र भदौको कारोबार तथा व्यवसायीसँगको छलफलको आधारमा चालु आर्थिक वर्षमा गत वर्ष भन्दा १५ प्रतिशत बढी राजस्व संकलन हुनेमा अर्थ मन्त्रालयका अधिकारीहरु आसावादी छन् ।

गत वर्ष भन्दा ९.७ प्रतिशत राजस्व संकलन हुँदा समेत यो वर्ष भदौ मसान्तसम्म गत वर्ष भन्दा ४.५७ प्रतिशत बढी खर्च भएको छ । चालू आर्थिक वर्षमा भदौ मसान्तसम्म सरकारले १ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको छ । गत वर्ष सोही अवधीमा १ खर्ब ३१ अर्ब रुपैयाँ खर्च भएको थियो ।

अर्थ मन्त्रालयले साउन १ गते बिभिन्न मन्त्रालयलाई मार्गदर्शन जारी गर्दै काम सम्पन्न भएका योजनामा बजेट भए बराबरको रकम भुक्तानी गर्न सर्कुलर गरेकाले यो वर्षको २ महिनामा गत वर्ष भन्दा पुँजीगत खर्चमा बृद्धि भएको छ ।

पुँजीगत तर्फ गत वर्ष ८ अर्ब १६ करोड रुपैयाँ खर्च भएकोमा यो वर्ष २ महिनामा १४ अर्ब ८० करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै यो वर्ष २ महिनामा चालू तर्फ ८२ अर्ब ९८ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ ३० अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ ।

गत वर्ष २ महिनामा चालू तर्फ ८७ अर्ब ६६ करोड रुपैयाँ, तथा वित्तीय व्यवस्थापन तर्फ ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको थियो ।

२ आश्विन २०८१, बुधबार ०२:४२ 50