भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात, प्राधिकणले भन्यो ऐतिहासिक

काठमाडौं । भारतको प्रसारणलाईन हुदै बंगलादेशलाई ४० मेगावाट विद्युत बेच्न नेपाल–भारत–बंगलादेशका अधिकारीबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा तीनै देशका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का तथा बंगलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री संयदारिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुलकरिमले हस्ताक्षर गरे । हस्ताक्षरसँगै नेपाल–बंगलादेश विद्युत् व्यापारको बाटो खुलेको छ ।

हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय सम्झौता ऐतिहासिक भएको बताए । पाँच महिनाको अवधिमा एक लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेश जाने घिसिङले बताए । नेपालको जलविद्युत्ले कार्बन उत्सर्जनमा महत्त्वपूर्ण भूमिका खेलेको घिसिङले बताए ।

१७ आश्विन २०८१, बिहीबार १५:४४ 80