/*php the_title();*/?>

काठमाडौं-भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्ने कामको परिक्षण सुरु भएको छ। पेट्रोलियम पाइपलाइन निर्माणको काम सुरु भएसँगै परिक्षणको काम थालिएको हो।
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगमले जनाएको छ।
पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा ४ हजार १०० किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे-रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको निगमले जनाएको छ।
यस्तै फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत यस परियोजना अन्तर्गत निर्माण गरिएको छ। सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो।
यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय आयल निगमनले निर्माण गरिदिएको छ।
परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइ गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ। परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ।
यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८ ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्ने निगमले जनाएको छ।
१३ पुष २०८१, शनिबार ०७:०७ 30