यस्तो छ देशको वर्तमान आर्थिक अवस्था

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्यांकमा आधारित रिपोर्टका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ ।शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोड रुपैयाँमा बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १८४४ अर्ब ९४ करोड रुपैयाँ र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । नेपाल सरकारको खर्च ६८६ अर्ब ७५ करोड रुपैयाँ र राजस्व परिचालन ५६७ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।

२७ फाल्गुन २०८०, आईतवार १५:४० 14