/*php the_title();*/?>

राजविराज (सप्तरी) । सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ । रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालिन उडान सुरु गरेको हो ।
राजविराज विमानस्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“अब राजविराज छायामा पर्नेछैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन ।”
पर्यटनमन्त्री पाण्डेले विमानस्थलको रात्रिकालिन सेवाले अर्थतन्त्रलवगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । उहाँले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राख्नुभयो । उहाँले राजविराजबाट सिधा पोखरालगायत गन्तव्यमा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिनुभयो । यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गर्नुभएको थियो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालिन उडान हुनु निकै गौरबको विषय भएको बताउनुभयो । “सप्तरीबासीका लागि गौरवको दिन हो, अब, उडान संख्या बढाएर सेवालाई निरन्तरता दिनेतर्फ सबैले ध्यान दिन जरुरी छ । यो अवस्थामा ल्याइपुर्याउने निकायलाई विशेष धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो । प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कोशी क्षेत्रको पर्यटन विकासमा निम्ति यो महत्वपूर्ण कदम भएको अध्यक्ष राउतले उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसका नेता एवं पूर्व पर्यटनमन्त्री जितेन्द्रनारायण देवले राजविराज विमानस्थलमा रात्रिकालिन उडान सञ्चालन हुनु गौरवको विषय रहेको भन्दै नियमित उडानका लागि मन्त्रालय र प्राधिकरणलाई धन्यवाद ज्ञापन गर्नुभयो । लामो संघर्षपछि यो विमानस्थलमा उडान सञ्चालन भएको भन्दै यसले आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो ।
नेकपा एमालेका नेता सुमन प्याकुरेलले नेपालको पुरानो विमानस्थल सप्तरीको मात्रै नभई सुनसरीको पश्चिम दक्षिण भेगदेखि सिरहासम्मका जनतालाई सेवा दिने यो विमानस्थल उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विभिन्न कारण पटक पटक उडान र बन्द हुँदै आएको विमानस्थललाई निरन्तर सञ्चालनका साथै यसलाई विमानचालक पाइलट तालिमका लागि उपयोग गर्न सुझाव दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालिन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गर्नुभयो ।
राजविराज विमानस्थलमा यसअघि बुद्धएयरले दिउँसोको समयमा दैनिक एक उडान गरिरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुध्द एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालिन उडानको परीक्षण गरेको थियो । परीक्षण उडान सफल भएसँगै बुद्ध एयरले आज काठमाडौँदेखि राजविराजको रात्रिकालिन व्यवसायिक उडान सुरु गरेको हो ।
योसँगै रात्रिकालिन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालिन उडा«न हुन्छ ।
प्राधिकरणका सूचनाअधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।
राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलको रुपमा पनि प्रयोग गर्न सकिने बुद्ध एयरका प्रवक्ता दिपेन्द्रकुमार कर्णले बताउनुभयो । राजविराज उडानले यस भेगको उडानलाई थप सुरक्षित सुढृढ गरेको उहाँको दावी छ ।
आईएफआरमा दुई हजार मिटरमा उडान गर्न सकिनेभएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुने भएको छ । यसअघि भिएफआर उडानका लागि घटिमा पनि पाँच हजार भिजिविलिटी हुनुपथ्र्यो । यसले उडान डिले तथा रद्द हुने समस्याबाट राहत मिल्ने विमानस्थलले जनाएको छ ।
राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले बुद्धले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो ।
राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएको थियो । राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग रहेको छ । लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट विसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको गियो । उसले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो ।
राजविराज विमानस्थल कार्यालयका अनुसार विसं २०५२ र २०६५ मा केही दिन उडान भयो । २०६६ मा केही समय राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर पुनः बन्द भएको थियो । विसं २०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितको संरचना निर्माण भएको थियो । राजविराजमा रात्रिकालिन उडानले मधेशको पर्यटनका निम्ति ढोका खुलेको स्थानीय रोशन मण्डलले बताउनुभयो ।
१ पुष २०८१, सोमबार १७:१३ 94