राष्ट्र बैंकको समन्वयमा सहकारी अनुगमन सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कर्मचारीको सहभागिता सहित सहकारी विभागले सहकारी संस्थाको अनुगमन थालेको छ । विभागका उपरजिस्ट्रार टोलराज उपाध्याय नेतृत्वको संयुक्त अनुगमन टोलीले सहकारी संस्थाहरूको सघन अनुगमन सुरु भएको हो । नियमनको अभावमा सहकारी क्षेत्रमा समस्या आयो भन्ने आरोप लागिरहेका बेला सहकारी संस्थाको अवस्था कस्तो छ भनेर वास्तविक अवस्था पत्ता लगाउन संयुक्त अनुगमन थालिएको विभागले जनाएको छ ।

विभागले पहिलो चरणमा अन्तर्गत ९ वटा संस्थाको अनुगमन गर्ने छ । जसमध्य आइतबारसम्म ६ वटाको सकिएको छ । अनुगमनका क्रममा विभागले सहकारीको सिद्धान्त र नियामनक निकायको निर्देशन पालना भए/नभएको अवस्था हेर्छ भने राष्ट्र बैंकले भने वित्तीय अवस्थाको विश्लेषण गर्ने गरेको छ ।

अनुगमन टोलीमा राष्ट्र बैंकका तर्फबाट उपनिर्देशक रमेश चौलागाईंसहित तीन जना र विभागका तर्फबाट एक जना प्रतिनिधि छन् । पहिलो चरणमा टोलीले गोर्खा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, आइडियल यमुना बचत तथा ऋण सहकारी, गौतमश्री बहुउद्देश्यीय, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलगायतको अनुगमन गर्नेछ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन, ०८० को सुझावअनुसार मन्त्रालयले केही ठूला सहकारीको अनुगमनका लागि बैंकलाई आग्रह गरेको थियो । तर, केन्द्रीय बैंक आफूले एक्लै सहकारीको अनुगमन नगर्ने बताएपछि सहकार्य गरिएको विभागले जनाएको छ ।

२१ फाल्गुन २०८०, सोमबार १४:५८ 13