राष्ट्र बैंकले प्रोभिजनिङ बढाएपछि बैंकका सीइओहरुको बढ्यो दौडधुप, सम्पत्ति विक्रीका लागि जाने थाले फिल्डमै

काठमाडौं-बैंक वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दो छ। खराब कर्जा बढेकाले बैंकहरुको कर्जा नोक्सानी व्यवस्था बढ्दा नाफा घटेको छ। गत आर्थिक वर्षको नाफाबाट राष्ट्र बैंकले अझ बढी प्रोभिजनिङ गराएपछि केही बैंकहरुको वित्तीय विवरण नै प्रभावित बनेका छन्।
राष्ट्र बैंकले अन्तिम लेखापरिक्षणका क्रममा प्रोभिजनिङ थपेपछि केही बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक भएको छ भने केही खुद घाटामा गएका छन्। खुद घाटामा गएका बैंकहरुले साधारणसभाको म्याद सार्ने मनस्थिति समेत बनाइसकेका छन्। बैंकहरुले अन्तिम लेखापरिक्षणको क्रममा पठाएको प्रारम्भिक वित्तीय वितरणमा नै प्रोभिजनिङ थपेपछि ति बैंकहरु समस्यामा परेका हुन।
राष्ट्र बैंकले थपेको प्रोभिजनिङमाथि अन्तिम लेखापरिक्षकले समेत कुनै तलमाथि गर्ने अवस्था रहँदैन। नियामकले गराएको विभिन्न प्रोभिजनिङ अन्तिम हुने गर्दछ। नियामकले आफ्नो क्षेत्रधिकारको प्रयोग गरेर प्रोभिजनिङ बढाएर नाफा घटाएपछि बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तनावमा परेका हुन। अन्तिम लेखापरिक्षण सम्पन्न गर्दा सम्ममा ऋण उठाउन सकिन्छ भनेर बैंकका सीइओहरु ऋणी असुलीका लागि फिल्डमै जान थालेका छन्।

एक बैंकका सीइओले सम्पत्ति विक्री गर्न सकिन्छ कि भनेर फिल्डमै जान लागेको सुनाए। ‘राष्ट्र बैंकले प्रोभिजनिङ थपेको छ। साधारणसभा आव्हान गरेपछि नाफा सबै घट्यो। सम्पत्ति विक्री गर्न सकिन्छ कि भनेर फिल्डमै जान लागेको हो’, ति सीइओले बताए।

विगतमा मर्जर तथा एक्विजिसनमा गएका अधिकांश बैंकहरुको कर्जामा समस्या देखिएको छ। सिभिल, सेन्चुरी, मेघा, एनसीसी बैंकलाई एक्वायर गरेका सबै बैंकहरु अहिले खराब कर्जाको चर्को दबाबमा छन्।
विगतमा ति बैंकहरुले जथाभावी कर्जा लगानी गर्दा अहिले मर्जरपछि समस्या देखिएको छ। राष्ट्र बैंकले कर्जा असुलीका लागि दबाब दिदै प्रोभिजनिङ बढाइरहेको छ भने अर्थतन्त्र चलायमान नहुँदा सम्पत्ति लिलामी हुने अवस्था समेत छैन।
अर्थतन्त्रमा कर्जाको माग नबढेपछि बैंकहहरुले नयाँ कर्जा विस्तार समेत गर्न सकेका छैनन। सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। निर्माण व्यवसायीले गत वर्षको भुक्तानी पाउन सकेका छैनन्। सरकारबाट भुक्तानी नपाएपछि राष्ट्र बैंकले दिएको पुर्नतालिकीरण वा कर्जा पुर्नसंरचनाको सुविधा समेत निर्माण ब्यवसायीले उपयोग गर्न सकेनन्। जसले गर्दा बैंकहरुको खराब कर्जा बढेको छ।
विगतमा निर्माण व्यवसायीलाई अत्याधिक कर्जा दिई मर्जरमा गएका बैंकहरुका कारण राम्रा मानिएका बैंकहरुको समेत खराब कर्जा बढेर ५ प्रतिशत नजिक पुगेकाले बैंकर्समा दबाब बढ्न थालेको छ।
अर्कोतर्फ दुर्गा प्रसाईं लगायतले ऋण तिर्नुनपर्ने भनी चलाएको आन्दोलनका कारण बैंकर्समा त्रास बढेको छ। कर्जा लिने तर भुक्तानी गर्न नमानेपछि बैंक वित्तीय संस्थाहरु दबाबमा परेका हुन। बैंकका शाखा कर्मचारीमाथि धरपकड तथा कुटपिट हुन थालेपछि पछिल्लो समय बैंकिङ पेशाप्रति नै कर्मचारीको आकर्षण घट्न थालेको छ। त्रासका कारण बैंकका शाखाहरुले नै नयाँ कर्जा जारी गर्न नमानेकाले पनि कर्जा लगानी बढ्न सकेको हो।

१० पुष २०८१, बुधबार ०२:२६ 41