शेखर गोल्छा अब निमार्णमा, ‘परान’ फिल्म बनाउदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष शेखर गोल्छा फिल्म निमार्णमा लाग्ने भएका छन् ।
शेखर गोल्छाले प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यसँगको सहकार्यमा खोलिएको बाइस्कोप सिनेमा प्रा.लिले सिनेमा निर्माण गर्ने छ ।
काठमाडौंमा गरिएको विशेष कार्यक्रममा उक्त कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो ।
चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्ने छन् भने यो उनको डेब्यु निर्देशन पनि हुनेछ ।
‘परान’ मा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन् भने शाहका अलावा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहने बताईएको छ ।
त्यस्तै सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ ।
फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमाको छायाङ्कन काठमाडौं तथा धनकुटामा हुनेछ ।
सिनेमा घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले आफू उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला–जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा दिक्क लागेको बताउँदै त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसङ्ग सुनाउँदै सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धि रहेको बताए ।
त्यस्तै रन्जीत आचार्यले सन् २०१७ मै सिनेमामा आउने योजनासहित कम्पनी खडा गरे पनि तयारीका दौरानमा नै कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताउँदै, उपरान्त नेपालीपन बोकेको र नेपाली दर्शकका लागि सिनेमा बनाउने बताए ।

११ माघ २०८१, शुक्रबार ०३:१७ 28