/*php the_title();*/?>

काठमाडौं । टाटा पन्च सन २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । २०२४ मा टाटाले भारतमा २ लाख २ हजार ३० वटा पन्च बिक्री गरेर रेकर्ड बनाएको छ।
२०२४ मा टाटा पन्चले मारुती सुजुकी वेगनआरलाई पछि पारेर सर्वाधिक बिक्री हुने कारको ताज पाएको हो। गतवर्ष मारुती वेगनार १ लाख ९० हजार ८ सय ५५ वटा बिक्री भएको थियो।
२०२४ मा धेरै बिक्री हुने पाँच कारमा ३ वटा एसयूभी सेगमेन्टका कार रहेका छन् जसमा पहिलोमा टाटा पन्च २ लाख २ हजार ३० वटा, दोस्रोमा मारुती वेगनआर १ लाख ९० हजार ८ सय ५५ वटा, तेस्रोमा मारुती इर्टिगा १ लाख ९० हजार ९१ वटा, चौथोमा मारुती ब्रेजा १ लाख ८८ हजार १ सय ६० वटा र पाँचौँमा हुन्डाई क्रेटा १ लाख ८६ हजार ९ सय १९ वटा बिक्री भएको तथ्यांक छ।
कोरोना महामारीपूर्व अर्थात २०१८ मा भारतमा ३३ लाख ४९ हजार कार बिक्री भएको थियो। उक्त वर्ष भारतीय कार बजारमा मारुती सुजुकीको बजार हिस्सा ५२ प्रतिशत रहेको थियो। सो वर्ष भारतको सर्वाधिक बिक्री हुने ५ कारमा सबै मारुती सुजुकीकै कार थिए। २०२४ भारतमा ४२ लाख ८६ हजार कार बिक्री भएका छन् । गत बर्ष सुजुकीको बजार हिस्सा ४१ प्रतिशतमा झरेको छ।
भारत स्वतन्त्र भएलगत्तै हिन्दुस्तान मोटर्सको एम्बास्डर कारले करिब ३ दशक भारतको सर्वाधिक बिक्री हुने कार ताज पाएको थियो । तर १९८५ पछि भने सुजुकीले मारुती ८०० कार ल्याएपछि भारतीय कार बजारमा नयाँ आयामको उदय भयो। यही सयमपछि मारुती सुजुकीले उत्पादन गरेका कार नै भारतको सर्वाधिक बिक्री हुने कार बनिरहेको थियो।
२०१८ पछि भने कार उद्योगमा सरकारले सुरक्षालाई ध्यानमा राखेर ठूलो परिवर्तनसहितको नीति ल्याएको थियो। यसपछि कार उद्योगमा बदलाव देखिएको हो। २०१८ पछि मारुतीको डिजायर र वेगनआर सर्वाधिक बिक्री हुने कार बनेका थिए। २०२४ मा आइपुग्दा सब फोरमिटर कार उद्योग एसयूभीतर्फ मोडिएको छ।
२०२१ मा सार्वजनिक भएको टाटा पन्च १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्ससहित सब फारेमिटर एसयूभीका रुपमा बजरमा आएको हो। सार्वजनिक भएयता टाटा पन्च भारतमा मासिक १० हजारभन्दा बढी बिक्री हुँदै आएको छ।
२१ पुष २०८१, आईतवार १३:४१ 25