२२ विमानस्थल गौचरण, निगमको १० अर्ब स्वहाः

काठमाडौं । नेपालमा पूर्व ताप्लेजुङदेखि दार्चुलासम्म साना जहाज अवतरण र उडान गर्न सक्ने ४२ वटा विमानस्थल छन् । तीमध्ये १० अर्बभन्दा बढी खर्चेर कालोपत्रे गरिएका २२ वटा विमानस्थल सञ्चालनमा नआउँदा गौचरमा परिणत भएका छन् । राजनीतिक लाभका लागि नेताको जोडबलमा बनेका यस्ता विमानस्थल सञ्चालनका लागि एकातिर व्यापारिक हिसाबले वायुसेवा कम्पनीले उडान गर्न मान्दैनन् भने जहाजको सङ्ख्यासमेत घट्दै गएका छन् । जसको असर दुर्गम भेगका नागरिकका साथै पर्यटन व्यवसायलाई पर्दै गएको छ ।

दुर्गममा निर्माण भएका ४२ वटा विमानस्थलमध्ये २० वटामात्र सञ्चालनमा छन्, तर तिनमा पनि सातामा मुस्किलले १(२ वटामात्र उडान हुन्छन् । विमानस्थल बन्द हुनु र चलेका पनि नाम मात्रको चल्नुको मुख्य कारण हो साना जहाज अभाव । यी विमानस्थलमा उडान र अवतरण गर्न सक्ने जहाज १३ वटामात्र भए पनि नियमित उड्ने ६ वटामात्र छन् ।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग २ वटा भए पनि एउटामात्र नियमित उडानमा छ । साना जहाज अभावका कारण दुर्गममा उडान हुन नसकेपछि नागरिक उड्डयन प्राधिकरणले २२ वर्षपछि दुर्गम क्षेत्र हवाई सेवा कोष ब्युँताउने तयारी गरेको छ । कोषमा जम्मा भएको १९ लाख ५० हजार रुपैयाँ २२ वर्ष देखि निष्क्रिय छ ।

दुर्गममा यात्रु नै नभएका भने होइनन् । पछिल्लो एक वर्षमा मात्रै ३ लाख १८ हजार ९ सय ४३ ले दुर्गम क्षेत्रबाट साना जहाजमा यात्रा गरेका छन् । तर पनि निजी बायु सेवा कम्पनी जहाज उडाउन तयार छैनन् ।

दुर्गम उडान गर्ने जहाजलाई इन्धन, चालकलाई तालिममा विदेश पठाउँदा र जहाजका सामान आयात गर्दा सहुलियत दिनु पर्ने निजी क्षेत्रको माग छ । तर मन्त्रालय भने निजी क्षेत्रभन्दा नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुपर्ने बताउँछ ।

कुनै समय ८ वटा साना विमान रहेको र दुर्गमका अधिकांश गन्तव्यमा उडान भर्ने नेपाल एयरलाइन्स अहिले एउटामात्र विमानमा सीमित छ । यस्तै, तारा एयरसँग विगतमा ७ वटा जहाज रहेकामा ३ वटामात्र सञ्चालनमा छन् भने सीता र समिटसँग पनि ५र५ वटा जहाज रहेकामा २(२ वटामात्र छन् ।

१३ फाल्गुन २०८०, आईतवार ०२:४४ 39