६ महिनामा ७ खर्ब रेमिट्यान्स

काठमाडौं। चालू आर्थिक वर्षको ६ महिने अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको ६ महिने वित्तीय विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक बर्षको यस अवधिका विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार पुसमा मात्रै १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो मंसिरको तुलनामा ५ अर्बले बढी हो। गत मंसिरमा १ खर्ब १८ अर्ब रेमिट्यान्स भित्रिएको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो।

२० माघ २०८१, आईतवार १४:३८ 15