८० कम्पनीको ५० अर्बको आईपीओ आउँदै

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि आवेदन दिने कम्पीको संख्या ८० पुगेको छ । विगत एक बर्ष देखि नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहिन भएपछि आवेदन दिने कम्पनीले आइपिओ जारी गर्ने अनुमति नपाउँदा यो संख्या बढ्दै गएको हो ।

आवेदन दिनेका होटेल तथा पर्यटन क्षेत्रका ७, जलविद्युत क्षेत्रका ४०, इन्भेष्टमेन्ट ३, उत्पादन मुलका १५, लघुवित्त १, लघु ईन्स्योरेन्स ४ र अन्य १० वटा कम्पनीको ४९ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरको ३४ करोड १९ लाख १ हजार ८३ कित्ता निष्काशन हुँदै छन् ।

त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख बराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन् ।

४० वटा जलविद्युत् आयोजनाले कूल १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर आइपिओ जारी गर्नका लागि बोर्डको प्रक्रियामा रहेका छन् ।

लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आइपिओ जारी गर्नका लागि पाइपलाइनमा छन् ।

उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता आइपिओ निष्कासनको प्रक्रियामा छन् ।

धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

२३ मंसिर २०८१, आईतवार ०६:४२ 24