एक वर्षमा भित्रिए ११ लाख ५८ हजार पर्यटक, २०१९ को रेकर्ड अझै तोडिएन

सन् २०२५ मा पर्यटक आगमन १ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको तथ्यांक अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल घुम्न आएका छन् । जुन सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल घुम्न आएका थिए ।
सन् २०२४ को तुलनमा पर्यटक आगमन १ प्रतिशतले बढेपनि कोभिड अघि अर्थात सन् २०१९ को तुलनामा भने ३.२ प्रतिशतले कमी हो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थियो । यो नै हालसम्मकै उच्च पर्यटक भित्रिएको वर्ष हो ।
सन् २०२५ मा सार्क देशबाट ४ लाख ८ हजार पर्यटक नेपाल भित्रिएका छन् भने २ लाख ५३ हजार पर्यटक अन्य एसियाली देशबाट नेपाल घुम्न आएका छन् । त्यस्तै युरोपबाट २ लाख ११ हजार ओसिएन देशबाट ५६ हजार, अमेरिकाबाट १ लाख ३५ हजार, मध्यपूर्वबाट २० हजार र अन्य देशबाट ६२ हजार गरि कुल ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२५ मा भारतबाट सबै भन्दाबढी २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२४ को तुलनामा ८ प्रतिशतले कमी हो । सन् २०२४ मा ३ लाख १७ हजार ७८१ भारतीय पर्यटक नेपाल आएका थिए । त्यस्तै अमेरीकाबाट १ लाख १२ हजार पर्यटक नेपाल घुम्न आएका छन् भने चीनबाट ९५ हजार ४८० पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढ्दा चीनबाट आउने पर्यटकको संख्या ६ प्रतिशतले घटेको छ ।
दक्षिण एसियामा सबै भन्दाबढी श्रीलंकाबाट आउने पर्यटकको संख्या बृद्धि भएको छ । सन् २०२४ को तुलनामा २४ प्रतिशतले श्रीलंकाबाट आउने पर्यटक बढेका छन् । त्यस्तै बंगलादेशबाट आउने पर्यटकको संख्या १७ प्रतिशतले बढ्दा हाम्रो सबै भन्दाठूलो बजार भनिएको भारतीय पर्यटकको संख्या भने ८ प्रतिशतले घटेको छ ।


सन् २०२५ मा भित्रिएका ११ लाख ५८ हजार पर्यटकमा ३५ प्रतिशत दक्षिण एसियाबाट आएका छन् भने २१.९ प्रतिशत अन्य एसियाली देशबाट आएका छन् । त्यस्तै १९ प्रतिशत युरोपेली देशबाट भित्रिद ४.६ ओरिएन देश, ११.७ प्रतिशत अमेरिका, १.८ प्रतिशत मध्यपूर्व र ५.४ प्रतिशत अन्य देशका रहेका छन् ।


त्यस्तै सन् २०२५ को डिसेम्बरमा ९८ हजार १९० पर्यटक नेपाल भित्रिएका छन् यो सन् २०२४ को तुलनामा ६.७ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा २.७ प्रतिशतले कमी हो । सन् २०२४ को डिसेम्बरमा ९२ हजार ३३ पर्यटक नेपाल आएका थिए भने सन् २०१९ मा एक लाख ८६६ पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा नेपाल आउनेमा दक्षिण एसियाली पर्यटकको हिस्सा ४० प्रतिशत रहेको छ । सन् २०२५ को डिसेम्बरमा ३९ हजार ७२२ पर्यटक दक्षिण एसियाबाट मात्रै भित्रिएका छन् । त्यसमा पनि भारतबाट आउने पर्यटकको संख्या ३० हजार रहेको छ ।

१७ पुष २०८२, बिहीबार १८:१० 36