दुई महिनामै साढे ३ खर्बको वैदेशिक व्यापार, निर्यात गर्न पनि आयातकै भर

चालु आर्थिक वर्षको दुई महिनामै ३ खर्ब ५ अर्बको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.२३ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष बर्षको यस अवधिमा २ अर्ब ६२ अर्बको वस्तु आयात भएको थियो ।


त्यस्तै चालु आर्थिक वर्षमा निर्यात पनि उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको दुई महिनामा २५ अर्बको वस्तु निर्यात भएकोमा यस वर्ष ८८ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड पुगेको छ । आर्थिक वर्षको दुई महिनामै ३ खर्ब ५७ अर्बको कुल वैदेशिक व्यापार भएको छ ।


भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको आयात र निर्यातको तथ्यांक अनुसार अहिलेसम्म भारतबाट १ खर्ब ७३ अर्बको वस्तु आयात भएको छ भने चीनबाट ६५ अर्ब १७ करोडको वस्तु आयात भएको छ ।


त्यस्तै अर्जेन्टिनाबाट १८ अर्ब ७० करोड, अमेरिकाबाट ६ अर्ब १२ करोड, युएईबाट ४ अर्ब ३५ करोड, इन्डोनेसियाबाट ३ अर्ब ८१ करोड र ब्राजिलबाट ३ अर्ब ४८ करोडको वस्तु आयात भएको छ ।

दुइ महिनामा कुल ४७ अर्ब निर्यात भएकोमा भारतमा मात्रै ३८ अर्ब ३५ करोड र अमेरिकामा ३ अर्ब २१ करोडको वस्तु निर्यात भएको छ । तर वैदेशीक व्यापार हुने अन्य देशमा भने लगभग अगन्य रुपमा मात्रै निकासी भएको देखिन्छ ।


अर्जेन्टिनाबाट दुई महिनामै १८ अर्बको वस्तु आयात गर्दा कुल ५ लाख ८८ हजारको वस्तु मात्रै निर्यात भएको छ । त्यस्तै चीनबाट दुइ महिनामा ६५ अर्बको वस्तु आयात हुँदा १२ करोड ३४ लाखको वस्तु मात्रै निर्यात भएको छ ।


अहिलेसम्म सबै भन्दाबढी पेट्रोलियम पदार्थ आयात भएको छ । दुई महिनामा कुल ३५ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा डिजेल १४ अर्ब ९१ करोड, पेट्रोल १० अर्ब ५८ करोड र एल्पी ग्यास ९ अर्ब ४३ करोडको आयात भएको छ ।


गत आर्थिक वर्ष देखी ह्वात्तै बेढेको भटमासको तेलको कच्चा पदार्थको आयत यस वर्ष पनि उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ब्राजिल, अर्जेन्टिना लगायतका देशबाट २१ अर्ब ६४ करोडको भट्मासको कच्चा तेल आयात भएको छ । त्यस्तै १४ अर्बको स्टिल आयरन आयात हुँदा १३ अर्ब ६६ करोडको रासायनिक मल र ८ अर्ब ८७ करोडको स्मार्ट फोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


चालु आर्थिक वर्षको अहिलेसम्म कुल ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएकोमा त्यसको झण्डै ४३ प्रतिशत अर्थात २० अर्ब ४२ करोडको त भट्मासको तेल मात्रै निर्यात भएको छ । जुन नेपालको आफ्नौ कच्चा पदार्थबाट बनेको होइन । त्यस्तै १ अर्ब ३१ करोड रुपैयाँ बराबरको निर्यात भएको पाम तेल पनि कच्चा पदार्थ आयात गरेर निर्यात गर्ने वस्तुमा पर्छ । नेपालको आफ्नै परम्परागत निर्यात हुने वस्तु अलैची ८५ करोड, कार्पेट तथा गलौचा १ अर्ब ५८ करोडको निर्यात भएको छ ।

८ आश्विन २०८२, बुधबार ०६:४३ 95