पुनः सुरु भयो गोल्डस्टारको जुत्ताको निकासी

काठमाडौं । साढे २ महीनादेखि भारत निकासी हुन नसकेको नेपाली जुत्ता ‘गोल्डस्टारको निकासी आंशिक रूपमा खुलेको छ ।

किरण सुज म्यानुफ्याक्चरर्स प्रालिले उत्पादन गर्ने गोल्डस्टार जुत्ता नेपाल र भारतमा लोकप्रिय छ । ठूलो संख्यामा यसका उत्पादन भारत निर्यात हुँदै आएको छ । तर, विगत साढे २ महीनादेखि भारतले नयाँ गुणस्तर प्रमाणपत्र दिन ढिलाइ गर्दै यसको निर्यातमा अवरोध गर्दै आएको थियो ।

‘गोल्डस्टार उत्पादन गर्ने विभिन्न कारखानामध्ये एक कारखानाको उत्पादनलाई गएको शुक्रवार भारतले ब्युरो अफ स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्र दिएसँगै निर्यात पुनः भएको नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसीले बताएका छन् ।

भारतले जुत्ता, सिमेन्ट, प्लाइउड, जस्तापाता र सेनिटरी प्याडजस्ता सामान भारतीय बजारमा विक्री वितरण गर्न बीआईएस प्रमाणपत्र अनिवार्य गरेको छ । तर, त्यस्ता प्रमाणपत्र दिन वा नवीकरण गर्न ढिलाइ गरिदिनाले नेपालका उत्पादनहरूको भारत निर्यात प्रभावित हुने गरेको छ ।

२४ मंसिर २०८१, सोमबार ०२:०१ 157