/*php the_title();*/?>

चालु आर्थिक वर्षको २ महिनामै ३ खर्ब ५२ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ३३.१ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती रिपोर्ट अनुसार भदौमा मात्रै १ खर्ब ७४ खर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको यस अवधिमा रेमिट्यन्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको भदौमा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । त्यस्तै चालु आर्थिक वर्षको दुइ महिनासम्म खुद द्वितीय आय ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।
रेमिट्यन्सामा बढेसँगै कुल विदेशी विनिमय सञ्चिति पनि बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा उक्त सञ्चिती २० अर्ब ४१ करोड पुगेको छ । जसले १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।
निजी क्षेत्रमा जाने कर्जा ०.९ प्रतिशतले मात्रै बढेको छ। चालु आर्थिक वर्षको दुई महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड मात्रै भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.४ प्रतिशत अर्थात ७३ अर्ब ३९ करोड ले बढेको थियो।
हालसम्म कुल कर्जा ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ र ३६ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ प्रतिशत र वित्त कम्पनीहरूको ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ ।
२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि तथा गैर–कृषिजन्य वस्तुको सुरक्षणमा १५.१ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.२ प्रतिशत र ६६.२ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.० प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.० प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आयात कर्जा ६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.५ प्रतिशत, क्यास क्रेडिट कर्जा १.७ प्रतिशत, आवधिक कर्जा १.१ प्रतिशत, रियल स्टेट कर्जा ०.८ प्रतिशत र हायर पर्चेज कर्जा ०.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.६ प्रतिशतले घटेको छ ।
त्यस्तै महँगी बृद्धिदर भने घटेको छ । भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशतमा सिमित रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ ।
घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतलेघटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.७७ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ ।
बीमा तथा वित्तीय सेवा उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ ।
२९ आश्विन २०८२, बुधबार ०७:४० 17