/*php the_title();*/?>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै ६ उद्योगमा लाइन काटेको छ । प्राधिकरणले मंगलबार बिहानै ६ वटा उद्योगमा लाइन काटेको हो ।
प्राधिकरणले सबैभन्दा धेरै बक्यौता रहेका ६ उद्योगको लाइन काटेको हो । जसमा जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्स रहेका छन् ।
लक्ष्मी पुजा सकिए लगत्तै प्राधिकरणले लाइन काटेको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आफ्नो उदेश्य उद्योगमा लाइन काट्ने नभएपनि बक्यौता उठाउन बाध्य भएर काट्नु परेको बताउँछन् । ‘प्राधिकरण बिजुली बिक्री गर्छ । उद्योगीहरु ठूला ग्राहक हुन् । बक्यौता रकम असुल्नका लागि बाध्य भएर काटिएको हो,’ सिलवाले भने,’ प्राधिकरणको काउन्टर तिहारको बिदाका सबै दिन खुल्छ । पहिलो किस्ता तिर्न आउनु भयो भने तत्काल लाइन जोडिन्छ ।’

प्राधिकरणले सूचना निकालेर बक्यौता तिर्न कार्तिक २ गतेसम्मको समय दिएको थियो । जसमा १३ वटा उद्योगले लाइन काटिने भएपछि बक्यौता तिर्न थालेका छन् । अब २६ उद्योगले बक्यौता तिर्न बाँकी छ । ती उद्योगमा क्रमश लाइन जोड्दै जाने तयारीमा प्राधिकरण छ ।

५ कार्तिक २०८२, मंगलवार ०७:५४ 31