/*php the_title();*/?>
काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा चार दिनदेखि जारी २५ औं पुष्प मेलामा सम्पन्न भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १ गतेदेखि सुरू भएको मेलाबाट पुष्प व्यवसायीहरूले एक करोड सात लाख रुपैयाँ कारोबार गरेका छन् भने सो मेलालाई ४९ हजारले अवलोकन गरेको एसोसिएसनको अध्यक्ष मिनबहादुर तमाङले जानकारी दिएका छन् ।
मेलालाई ५० हजार जनाले अवलोकन गर्ने तथा एक करोड रुपैयाँ बराबरको कारोबार हुने फ्यानको अनुमान थियो । लक्ष्य भन्दा कम व्यक्तिले मेलाको अवलोकन गरे भने कारोबार लक्ष्यभन्दा बढी हुँदा फ्यान उत्साहित भएको छ ।
मेलाको पहिलो दिन चैत १ गते सात हजार ५०० जनाले अवलोकन गरेका थिए भने १७ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो । चैत २ गते अर्थात दोस्रो दिन १५ हजारबढीले अवलोकन गरेका छन् भने ३२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै तेस्रो दिन अर्थात हिजो १७ हजारबढीले अवलोकन गरेका थिए भने ३५ लाखको कारोबार भएको थियो । चार दिनमध्ये सबैभन्दा बढी कारोबार शनिवार भएको थियो । बिदाका दिन परेका हुनाले विद्यार्थी, कर्मचारीलगायत अन्य व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।
मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको थियो ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको थियो । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ ।
नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरू भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।
४ चैत्र २०८०, आईतवार १५:३८ 144