एक बर्षमा ९ अर्बको तयारी पोसाक निर्यात

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनुको कारण खोजेर समाधान गर्नुपर्ने बताए।

यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनको भनाइ छ। ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ’ मन्त्री भण्डारीले भने। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्ने बताए।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले तयारी पोसाक तथा कृषिजन्य उत्पादन निर्यात सहजीकरण गर्न, मुलुकमा लगानी वातावरण निर्माण गर्न सुझाव दिए। उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं संघका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोसाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे। उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए। प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवर्द्धनमा ध्यान दिन आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोसाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रुपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरे। सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए। आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरे। नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोसाक उद्योगलाई प्रवर्द्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए।

सन् १९८७ मा स्थापना भएको संघमा एक सयभन्दा बढी तयारी पोसाक उद्योगी आबद्ध छन् । तयारी पोसाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सिर्जना भएको संघले जनाएको छ। गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब ९ अर्ब बराबरको तयारी पोसाक निर्यात भएको संघले बताएको छ। तयारी पोसाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ। गलैंचा प्रथम र तयारी पोसाक दोस्रो स्थानमा रहेको संघका अध्यक्ष पाण्डेले जानकारी दिए।

२६ फाल्गुन २०८०, शनिबार १५:२२ 15